बागमती पुल नजिक होटलमा जसपा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार, एक पक्राउ

सर्लाही, फागुन ६ । सर्लाहीको बागमती पुल नजिकै रहेको एक होटलमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार तथा धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न भनिएका प्रसान्त वाइवाले सुनियोजित ढंगले होटलमै पुगेर डा. यादवलाई धम्क्याएको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै “मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग” जस्ता अभिव्यक्ति दिएका थिए। साथै “मधेशीहरूको ओकात थोरै छ” भन्दै जातीय रूपमा होच्याउने प्रयास गरिएको आरोप छ।
उक्त घटनाको भिडियोसमेत सार्वजनिक भएको बताइएको छ। भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय भई घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ परेका व्यक्ति माओवादी निकट कार्यकर्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाप्रति जसपा नेपालका स्थानीय नेता–कार्यकर्ताले आपत्ति जनाउँदै उम्मेदवारमाथि भएको दुर्व्यवहारको कडा निन्दा गरेका छन्। उनीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
घटनाले चुनावी माहोल तातेको अवस्थामा सर्लाहीमा राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *